पुरानो तरिकाले चल्दैन, ५० प्रतिशत युवासहित पार्टी बदल्छौँ : प्रचण्ड

पुरानो तरिकाले चल्दैन, ५० प्रतिशत युवासहित पार्टी बदल्छौँ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक परिस्थितिमा पुरानै तरिकाले अघि बढेर चुनौतीको सामना गर्न नसकिने बताएका छन्।

शनिबार काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार रक्षाका लागि संघर्ष अझ दृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

प्रचण्डका अनुसार गत वर्ष भदौ २४ पछि देश असहज परिस्थितिबाट गुज्रिरहेको र मुलुकलाई संकटतर्फ धकेल्ने प्रयास भइरहेकाले सच्चा कम्युनिस्ट शक्तिहरूबीच एकता तथा गणतन्त्रवादी शक्तिहरूबीच सहकार्य अनिवार्य बनेको छ।

उनले भने, "गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि बढिरहेको छैन। अहिलेसम्म आइपुग्दा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेका छन्। यस्तो परिस्थितिमा त्यसका विरुद्ध तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले अझ दृढतापूर्वक संघर्ष गर्नुपर्ने अवस्था छ।"

‘गणतन्त्रपछि देशमा केही पनि भएन’ भन्ने भाष्यलाई खण्डन गर्दै उनले सामन्ती राजतन्त्रबाट देशलाई रूपान्तरण गर्न आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरे।

"गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल खाँदैन," उनले भने, "सामन्ती राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौँ।"

आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामलाई पनि तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने  बताउँदै उनले आफ्नो तीनवटै प्रधानमन्त्री कार्यकालका उपलब्धिहरू प्रस्तुत गरे।

पहिलो कार्यकालमा शान्ति प्रक्रिया संस्थागत गर्ने, गणतन्त्र कार्यान्वयन गर्ने र संविधान निर्माणको आधार तयार गर्ने काम भएको उनले बताए। त्यस्तै दोस्रो कार्यकालमा संविधान कार्यान्वयनलाई गति दिने, करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन गराउने, संघीयताको व्यावहारिक कार्यान्वयन अघि बढाउने र भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने काम भएको उनले बताए।

लोडसेडिङ अन्त्य गर्ने दिशामा निर्णायक काम भएको उल्लेख गर्दै प्रचण्डले नेपाल अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए। पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय पूर्वाधार आयोजना, सडक विस्तार र पुनर्निर्माणलाई पनि विकास प्रक्रियाको महत्वपूर्ण हिस्सा भएको उनले बताए।

तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार, अर्थतन्त्र सुधार तथा राष्ट्रिय हितका विषयलाई प्राथमिकता दिइएको उनको दाबी थियो।

पार्टीभित्र पनि गम्भीर रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले केन्द्रीय समितिबाट नेतृत्वमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने निर्णय भइसकेको र आगामी महाधिवेशनमार्फत वैचारिक पुनर्संरचना गरिने जानकारी दिए। उनले आगामी दिनमा सदन र सडक संघर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार चुनावी मोर्चासमेत बनाउन सकिने बताए।

"अबको बाटो विगतको उपलब्धिको रक्षा मात्र होइन, कमजोरी सच्याउँदै नयाँ परिस्थितिअनुसार पार्टी, विचार, संगठन र नेतृत्वलाई रूपान्तरण गर्ने बाटो हो," उनले भने।

असोज १७, २०८३ शनिबार १७:५६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।