पश्चिम नेपालबाट बाहिरिन थाल्यो मनसुन, केही दिनमा देशभरबाटै बाहिरिने
काठमाडौं : यस वर्षको मनसुन नेपालको पश्चिमी भू-भागबाट बाहिरिन सुरु गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) सम्ममा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुनी प्रणाली पूर्ण रूपमा बाहिरिएको छ।
महाशाखाले जारी गरेको ‘मनसुन बहिर्गमन बुलेटिन-१’ अनुसार सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरैजसो स्थान र गण्डकी प्रदेशको पश्चिमी भू-भागका थोरै स्थानहरूबाट समेत मनसुन बाहिरिसकेको छ।
अहिले नेपालमा मनसुनी वायु कमजोर बन्दै गइरहेकाले आगामी केही दिनभित्रै बाँकी भू-भागबाट पनि मनसुन क्रमशः बाहिरिने महाशाखाले जनाएको छ। हाल गण्डकीको पूर्वी भू-भाग, बागमती, मधेस र कोशी प्रदेशमा भने मनसुनी प्रणालीको प्रभाव कायमै छ।
महाशाखाले मनसुन बहिर्गमनको प्रक्रिया तथा यससँगै सक्रिय हुन थालेको पश्चिमी वायुको प्रभावबारे निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार सूचना अद्यावधिक गर्दै जाने जानकारी दिएको छ।
नेपालमा सामान्यतया अक्टोबरको पहिलो सातातिरबाट मनसुन बाहिरिने गर्दछ।
असोज १७, २०८३ शनिबार १२:३२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।