मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना घाइते
काठमाडौं : मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल शुक्रबार राति १०:३५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी झापा घेराबारीका २७ वर्षीय मोटरसाइकल चालक कुमार नेपाली, सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङ पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।
घाइतेहरूलाई तत्काल उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल र ट्रमा सेन्टर तथा विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा चालक कुमार नेपाली र सन्देश नेपालीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अमर नेपालीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
असोज १७, २०८३ शनिबार १०:३९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।