हिमपात र पहिरोले हिल्सा-सिमकोट सडक अवरुद्ध, दशैंको मुखमा यात्रु अलपत्र

हिमपात र पहिरोले हिल्सा-सिमकोट सडक अवरुद्ध, दशैंको मुखमा यात्रु अलपत्र

सुर्खेत : हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल-चीन सीमास्थित हिल्सा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

चाडपर्व नजिकिँदै गर्दा उत्तरी सीमा जोड्ने मुख्य मार्ग बन्द भएपछि दसैँ मनाउन घर फर्कने नागरिक, स्थानीय व्यापारी र पर्यटक बीचबाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका-४ यालबाङ र सिमकोट गाउँपालिका-७ ठाडोढुङ्गामा ठूलो पहिरो खसेको छ।

यस्तै, उच्च हिमाली क्षेत्रको १२ किलोमिटरभन्दा बढी सडकखण्डमा बाक्लो हिउँ जमेकाले यातायात सञ्चालन हुन नसकेको हो।

सडक अवरुद्ध हुँदा चीनको ताक्लाकोटबाट व्यापार तथा रोजगारी सकेर दसैँका लागि घर फर्कँदै गरेका नेपालीहरू सीमावर्ती हिल्सामै रोकिएका छन्।

नाम्खाका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी र उपचारका लागि सदरमुकाम सिमकोट आउन समस्या भएको छ। स्थानीयले आकस्मिक कामका लागि महँगो भाडा तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले मौसम अनुकूल रहे एक साताभित्र सडक खुलाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

‘दुर्गम भूगोलमा स्रोतसाधन र मेसिनरी जुटाउनै समय लाग्छ, थप हिमपात नभए एक साताभित्र अवरोध हटाउन सकिन्छ,’ उनले भने। प्रशासनका अनुसार सल्लीसल्लादेखि सिमकोटसम्मको सडकखण्ड भने पहिरो पन्छाएर सुचारु गरिसकिएको छ।

भोटेकोसी बाढीका कारण तातोपानी नाका प्रभावित भएपछि मानसरोवर जाने पर्यटक र सीमावर्ती व्यापारका लागि हिल्सा नाकाको महत्त्व बढेको थियो। यही समयमा सडक बन्द हुँदा पर्यटकीय र व्यापारिक गतिविधि ठप्प भएको छ।

यसैबीच, पर्यटन व्यवसायी नोर्बु लामाले बाढीपहिरोका कारण हुम्लाका सबै पर्यटकीय क्षेत्र बन्द भएको भन्दै भ्रामक प्रचार भइरहेकोमा चिन्ता व्यक्त गरे। उनले वास्तविक अवस्था बुझेर मात्र सूचना प्रवाह गर्न आग्रह गर्दै हुम्लाको पर्यटन पूर्ण रूपमा ठप्प नरहेको स्पष्ट पारे।

असोज १७, २०८३ शनिबार १०:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।