दाउन्नेमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते
नवलपुर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दाउन्नेमा आज (शनिबार) बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित ‘एसमोड’मा दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी र स्थानीयको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याएको छ।
मृतकहरूको पहिचान (सनाखत) हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बस सडकबाट तल खसेको र घटनाको विस्तृत विवरण तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी पण्डितले जानकारी दिए।
असोज १७, २०८३ शनिबार ०९:२३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।