भोलिदेखि फेरि सक्रिय हुँदै मौसमी प्रणाली, सोमबार र मंगलबार बढी जोखिम
काठमाडौं : माथिल्लो वायुमण्डलीय प्रभावका कारण आगामी एक साता वा त्यसभन्दा केही बढी समयसम्म देशका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहने भएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार कमजोर पश्चिमी वायुको प्रभावले नेपाल आसपास न्यूनचापीय रेखा सक्रिय रहने देखिएकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।
वर्षा देशभर एकैपटक वा दिनभर लगातार नभई मुख्यतः अपराह्नपछि सुरु भएर साँझसम्म सक्रिय रहने सम्भावना बढी छ।
मौसमविद् पोखरेलका अनुसार आज (शनिबार) देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।
भोलि आइतबारदेखि यो मौसमी प्रणाली थप सक्रिय हुँदै सोमबार र मंगलबार देशका अधिकांश भूभागमा फैलिने देखिएको छ। यी दुई दिन केही स्थानमा छोटो समयका लागि भारी वर्षासमेत हुन सक्ने प्रक्षेपण गरिएको छ।
त्यसपछि बुधबारदेखि वर्षा केही कम हुने र बिहीबार पहाडी भेगका केही स्थानमा पुनः हल्का पानी पर्न सक्ने संकेत देखिएको छ।
धान काट्ने किसान र पर्यटकलाई विशेष ध्यान दिन आग्रह
यो मौसमी पूर्वानुमान विशेषगरी पाकेको धान काट्ने तयारीमा रहेका किसानहरूका लागि निकै महत्त्वपूर्ण रहेको पोखरेलले बताएका छन्।
बाली भित्र्याउने समयमा पानी पर्दा अन्नबालीमा क्षति पुग्न सक्ने भएकाले मौसमको अवस्था हेरेर मात्र धान काट्न किसानलाई सुझाव दिइएको छ।
त्यस्तै, हाल पर्यटकीय मौसम सुरु भइसकेकाले पहाडी तथा हिमाली क्षेत्रमा हाइकिङ र ट्रेकिङ जाने पर्यटकहरूलाई समेत मौसमको पूर्वानुमान अनुसार यात्राको तालिका मिलाउन आग्रह गरिएको छ।
यो विश्लेषण विभिन्न मौसमी मोडेलको औसतमा आधारित पूर्वानुमान भएकाले वास्तविक वर्षाको समय, स्थान र मात्रामा केही फेरबदल हुन सक्ने मौसमविद् पोखरेलले स्पष्ट पारेका छन्।
उनले दैनिक काममा निस्कँदा सर्वसाधारणलाई आफ्नो जिल्लाको मौसमको अवस्था ख्याल गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
असोज १७, २०८३ शनिबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।