पृथ्वी राजमार्ग : धादिङको फुर्केखोला वैकल्पिक सडक आज ५ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग : धादिङको फुर्केखोला वैकल्पिक सडक आज ५ घण्टा बन्द हुने

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको वैकल्पिक सडक आज ५ घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।

सडक मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार हाल वैकल्पिक मार्गका रूपमा सञ्चालनमा रहेको परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडकखण्डका विभिन्न ठाउँमा मर्मत गर्नुपर्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मर्मत कार्यलाई तीव्र बनाउन र यात्रालाई सुरक्षित बनाउन तोकिएको अवधिभर आवागमन बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्।

गत भदौमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएपछि यो ग्रामीण सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आइएको छ। सडक साँघुरो र कच्ची भएकाले निरन्तरको चापका कारण जीर्ण बनेपछि मर्मत गर्न लागिएको हो।

प्रशासनले सडक बन्द रहने ५ घण्टाको अवधिमा सवारीचालक तथा यात्रुहरूलाई धादिङबेँसी-सुनौलाबजार-भोर्ले-कोसीखोला-फोस्रेटार-कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

असोज १७, २०८३ शनिबार ०७:२०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।