रास्वपा केन्द्रीय समिति बैठक आज : स्थानीय निर्वाचन र ‘हामी आउँदै छौँ’ अभियान मुख्य एजेन्डा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौँको वनस्थली (चमती) स्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा दिउँसो ३ बजे बैठक बोलाइएको हो।
बैठकमा मुख्यगरी आगामी स्थानीय तहको निर्वाचनको तयारी, सांगठनिक विस्तार तथा पार्टीका नयाँ अभियानबारे विस्तृत छलफल हुने पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
प्रवक्ता खरेलका अनुसार बैठकका लागि पाँचवटा मुख्य एजेन्डा तय गरिएका छन्।
बैठकमा आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्यहरूको मनोनयन, पार्टीका विभिन्न विभागीय प्रमुख तथा उपप्रमुखहरूको मनोनयनबारे निर्णय हुनेछ।
केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य (सांसद) हरूको नेतृत्वमा सञ्चालन गरिने देशव्यापी ‘हामी आउँदै छौँ’ अभियानको कार्ययोजना, पार्टीको मधेस प्रदेश संगठनको सांगठनिक अडिट रिपोर्टमाथि छलफल र समीक्षा तथा समसामयिक राजनीतिक परिस्थिति लगायतका अन्य विषयहरू पनि छलफल हुने प्रवक्ता खरेलले बताए।
उनका अनुसार पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनसम्पर्कलाई विस्तार गर्ने उद्देश्यसहित सांसद र केन्द्रीय नेताहरूलाई फिल्डमा खटाउने तयारी रास्वपाले गरेको छ। आजको बैठकले ती अभियानहरूको औपचारिक मिति र कार्यविधि तय गर्नेछ।
असोज १७, २०८३ शनिबार ०७:१३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।