अवरुद्ध बेनी-जोमसोम सडक : पैदलयात्रा सहज बनाउन युवाहरूको श्रमदान
म्याग्दी : बाढी र पहिरोले अवरुद्ध बेनी–जोमसोम सडकमा जोखिम मोलेर हिँड्न बाध्य यात्रुहरूको सहजताका लागि म्याग्दीका युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन्। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ आवतजावत गर्ने तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दालाई लक्षित गरी युवाहरूले बाटो मर्मत गरेका हुन्।
बेनीका प्रकाश पौडेलको नेतृत्वमा खटिएको १५ जना स्वयंसेवी युवाको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रको जोखिमयुक्त ठाउँमा भर्याङ राख्ने तथा डोरी टाँग्ने काम गरेको छ। उनीहरूले दिनभर श्रमदान गरी पहिरोले ढालेका रुखहरू पन्छाएर पैदल हिँड्न मिल्ने बनाएका छन्।
सडक पूर्ण रूपमा मर्मत भई यातायात सञ्चालन नहुँदासम्म पैदल हिँड्न विवश यात्रुहरूको सुरक्षाका लागि यो अभियान थालिएको संयोजक पौडेलले बताए। “सामाजिक सञ्जालमार्फत युवाहरूलाई आह्वान गरेर श्रमदानमा जुटेका हौँ,” उनले भने, “मानिसहरूलाई सुरक्षित रूपमा आवतजावत गर्ने वातावरण बनाउन हाम्रो सानो प्रयास हो।”
गत साताको अविरल वर्षा, बाढी र कालीगण्डकीको कटानका कारण बेनी–जोमसोम सडकको बेनी–काभ्रेभीर खण्ड (३३ किलोमिटर) छियाछिया बनेको छ।
दैनिक हजारौँ सवारीसाधन गुड्ने यो सडकका कतिपय ठाउँमा नामनिसानै नरहने गरी भत्किएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङमा रोकिएका पर्यटक, तीर्थयात्री, व्यवसायी र स्थानीयका लागि जोखिमपूर्ण पैदलयात्रा नै एकमात्र विकल्प बनेको छ।
यसैबीच, बेनी–जोमसोम–कोरला सडक योजनाले पछिल्लो पटक अवरुद्ध भएका ४६ मध्ये ४१ ठाउँमा पहिरो पन्छाउने काम सकिएको जनाएको छ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार हाल म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग–तातोपानी खण्डमा मर्मत कार्य जारी छ। थप उपकरण र मजदुर परिचालन गरी चीनसँगको कोरला नाका जोड्ने यो रणनीतिक सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन युद्धस्तरमा काम भइरहेको शर्माले बताए।
असोज १७, २०८३ शनिबार ०७:०३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।