टेकु अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि हातपात र गालीगलौज गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौंको कीर्तिपुर नगरपालिका-४ बस्ने अन्दाजी ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार (असोज १४) राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा आएका उनीहरूले ड्युटीमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई गालीगलौज, धाकधम्की दिँदै हातपात गरेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी वृत्त कालीमाटीको टोली अस्पताल पुगेर घटनाबारे जानकारी लगेको थियो। हातपात तथा अभद्र व्यवहार गरिरहेको देखिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्रा परेका तीनै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
असोज १६, २०८३ शुक्रबार २२:४१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।