चाडपर्व लक्षित काठमाडौंमा विशेष सुरक्षा योजना लागू; ३५ सय प्रहरी, ड्रोन-डग युनिटबाट निगरानी

चाडपर्व लक्षित काठमाडौंमा विशेष सुरक्षा योजना लागू; ३५ सय प्रहरी, ड्रोन-डग युनिटबाट निगरानी

काठमाडौं : चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि रोक्न १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना लागू गरेको छ।

काठमाडौंबाट बाहिरिने नाका, बजार, धार्मिक स्थल तथा बसपार्क लगायतका क्षेत्रलाई संवेदनशील सूचीमा राखेर शुक्रबारदेखि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले चाडपर्वमा हुने आपराधिक कार्यलाई रोक्न यस्तो योजना ल्याएको बताए। 

“हामीले चाडपर्वमा सुरक्षित महसुस होस् भनेर आजैबाट सुरक्षा योजना ल्याएका हौं। चाडपर्वमा चोरी, ठगी, जुवा, लंगुरबुर्जा, नक्कली नोट, वैदेशिक मुद्दा ठगी, पेय पदार्थ नशालु पदार्थ मिसाउने लगायतका कार्य हुन नदिनको हामी सतर्क छौं,” उनले भने।

शुक्रबारदेखि लागू भएको यो सुरक्षा योजना कात्तिक ३० गतेसम्म चल्नेछ। जसमा परिसरले काठमाडौं परिसरअन्तर्गत पर्ने हरेक क्षेत्रको सुरक्षाका लागि सिभिल ड्रेससहित गरेर तीन हजार ५०६ जना प्रहरी परिचालन गरिने छ। साथै आवश्यक परेमा सम्बन्धित कार्यालयबाट थप रिजर्भ टोली परिचालन गर्ने परिसरले जनाएको छ।

काठमाडौं जिल्लाभरमा रहेको धार्मिक स्थल अन्तर्गत पशुपति, गुह्रेश्वरी, दक्षिणकालीलाई संवेदनशील क्षेत्रको रूपमा लिएको छ। त्यसैगरी संवेदनशील क्षेत्रअन्तर्गत भिडभाड हुने क्षेत्र जस्तै, अन्तर्गत न्यूरोड, असन, कोटेश्वर, कलंकी रहेको छ।

यातायात क्षेत्रअन्तर्गत नयाँ बसपार्क, कलंकी, बल्खुलाई संवेदनशील क्षेत्रमा वर्गीकरण गरेको छ। यी क्षेत्रमा टिकेट तथा यात्रीलाई आवश्यक हैरानी गरेको खण्डमा कारबाही गरिने परिसरका प्रवक्ता थापा बताउँछन्, “काठमाडौंबाट अन्यत्र जिल्ला जाने यात्रीहरूलाई हैरानी दिने, तान्ने तथा ठगी गर्ने भएकोले यी क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा राखेको हो।”

त्यसैगरी परिसरले संवेदनशील मानेको बजार क्षेत्रअन्तर्गतमा सपिङ महल, सुनचाँदी पसललाई पनि राखेको छ। त्यसैगरी, सरकारी तथा निजी कार्यालय, एटिएममा समेत विशेष सुरक्षा दिइने छ।

परिसरका अनुसार यस्तो सुरक्षा योजनाको लागि सचेतना कार्यक्रम सामाजिक सञ्जालबाट सञ्चालन गर्नुको साथै, सम्भावित अपराध तथा जोखिम पहिचान गरी अग्रिम तयारी, गस्ती, निगरानी, चेकजाँचसमेत गरिने छ।

त्यसैगरी, कानुन विपरीतको कार्य गर्नेलाई कारबाही गर्ने, चेकपोईन्ट, सर्च तथा विशेष अप्रेसन सञ्चालन गर्ने तयारको साथै, सिसिटिभी, ड्रोन, K-9 (डग युनिट) जस्ता प्रविधिको प्रयोग गरेर सुरक्षा दिने परिसरले जनाएको छ। जसमा एक हजार २४२ वटा सिसीक्यामरा, ३ वटा ड्रोन र डग युनिटले काठमाडौंका प्रमुख नाकाहरू, बढी भिडभाड हुने स्थान, अन्य संवेदनशील स्थानहरूमा नियमित डग ह्यान्डलरसहितको टोली परिचालन गर्नेछ। 

त्यसैगरी, परिचालित जनशक्तिहरूमा मोबाइल गस्ती, पिकेट, पैदल गस्ती, रिजर्भ, सिआरभी, क्यूआरटिसहितको संयुक्त टोली, सादा पोसाक, चेक पोइन्ट, यात्री सहायता कक्ष, सीमा नाका सुरक्षा ड्युटी, संवेदनशील स्थानमा जनशक्ति परिचालन गर्नेछ। 

परिसरका अनुसार यस वर्ष पनि यात्री काठमाडौंबाट बाहिरिने मुख्य स्थानहरूमा नागरिक सहायता कक्ष राख्ने भएको छ। जसमा कलंकी, कोटेश्वर, गौशाला, गोंगबु बसपार्क, बिजी महल, अगाडीको साथै, बल्खु, सुरुङ मार्ग, नागढुंगा, बालाजु बाइपास, बालाजु चोक, सितापाइला, जोरपाटी, गौशाला चोक र चाबहिलमा रहने छ। 

परिसरले काठमाडौं जिल्लाभरिमा कुनै पनि आपराधिक घटना भएको अवस्थामा करिब ५ देखी १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा योजना ल्याएको जनाएको छ।

असोज १६, २०८३ शुक्रबार १७:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।