नागरिक द्रुत नतिजा खोज्दैछन्, राज्यको कार्यशैली सुस्त छ : आचार्य

नागरिक द्रुत नतिजा खोज्दैछन्, राज्यको कार्यशैली सुस्त छ : आचार्य

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का महामन्त्री विपिन आचार्यले नागरिकको परिवर्तनप्रतिको उच्च आकाङ्क्षा र राज्य संयन्त्रको सुस्त कार्यशैलीबीचको खाडल पुर्न सरकार र संसद् दुवैले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै आचार्यले नागरिकले द्रुत नतिजा खोजिरहेको अवस्थामा राज्यका प्रक्रिया र कार्यशैली अपेक्षाकृत सुस्त रहेका उल्लेख गरे। उनले समयमै नागरिकका अपेक्षा सम्बोधन गर्न नसके राजनीतिक नेतृत्वप्रति प्रश्न उठ्ने बताए। 

उनले सरकारको मूल्याङ्कन गर्दा नयाँ नेतृत्वले दशकौंदेखि थुप्रिएको बेथिति, अलपत्र विकास आयोजना र परम्परागत कार्यशैली बोकेको राज्य संयन्त्र सम्हाल्नुपरेको यथार्थलाई ध्यान दिनुपर्ने बताउँदै गठन भएको छ महिना नपुग्दै सरकारको समग्र मूल्याङ्कन गर्नु हतारो हुने धारणा राखे।

आचार्यले प्रतिपक्षले सरकारको विरोधका लागि विरोध गर्ने परम्परागत शैली त्यागेर तथ्य र तर्कका आधारमा रचनात्मक आलोचना गर्नुपर्ने बताए। उनले संसद्मा जनसरोकारका विषय उठाउने क्रम बढे पनि ती विषयको अभिलेखीकरण, वर्गीकरण, प्राथमिकीकरण र समाधानतर्फ पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिए।

असोज १६, २०८३ शुक्रबार १७:०६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।