संसद्मा बोलेको नसुनिने, मन्त्रीका सचिवालय धाउनुपर्ने प्रवृत्ति गलत
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलो मात्र बनाउन नहुने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भाग लिँदै उनले संसद्प्रति सरकार जबाफदेही हुनुपर्नेमा जोड दिइन्।
संसद्मा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदा मात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको बताउँदै धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने, संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताइन्।
संसद्मा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उनले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गरिन्। “सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ। अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन”, उनले भनिन्।
सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेर मात्र नहुने बताइन्। “भूमिका खोजेको ठाउँमा उपस्थिति मात्रै खोजेर हुँदैन,” उनले भनिन्।
असोज १६, २०८३ शुक्रबार १६:०३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।