कांग्रेस महाधिवेशनमा शहरमा पर्चा टाँस्न र तामझामपूर्ण प्रचार गर्न रोक
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले शहरमा पर्चा टाँस्न र तामझामपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन्।
महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएका हुन्।
चालिसेका अनुसार १५औँ महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरूलाई आग्रह गरिएको छ।
"१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिँदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ," उनले भने।
कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरू राख्ने प्रवक्ता चालिसेले जानकारी दिए। उनले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरूलाई आग्रह गरे।
असोज १६, २०८३ शुक्रबार १५:०८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।