पेट्रोलपछि सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिँदै सरकार

पेट्रोलपछि सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिँदै सरकार

काठमाडौं : खाना पकाउने ग्यासको सहज आपूर्तिका लागि सरकारले सुरक्षा निकायलाई समेत एलपिजी ग्यास बिक्री वितरणको अनुमति दिने भएको छ।

बजारमा असहज परिस्थिति उत्पन्न हुँदा आपूर्ति व्यवस्थापन चुस्त राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिने तयारी थालेको हो। मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिए। 

विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा शुक्रबार आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उनले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुनेगरी व्यवस्था मिलाउन लागिएको बताए। 

“अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्”, उनले भने, “सुरक्षा निकायको आउटलेटबाट पनि  ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ।”

सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक-दुई वटा आउटलेट भएदेखि राज्यलाई आपत् पर्दा सहज हुने गरी आवश्यक तयारी भएको जानकारी दिए। उनले ग्यासको पनि सम्भावित अभावलाई मध्यनजर गर्दै त्यससम्बन्धी प्रबन्ध मिलाउन लागेको बताए।

असोज १६, २०८३ शुक्रबार १५:०१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।