‘हामी प्रतिपक्ष हौँ, तर शत्रु होइनौँ; समर्थक हौँ, तर दास होइनौँ’
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै संसद्को रोस्ट्रमबाट कडा खबरदारी गरेका छन्।
प्रतिनिधि सभाको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको दम्भ त्यागेर विगतको इतिहासबाट पाठ सिक्न सरकारलाई चेतावनी दिए।
अघिल्लो सरकारको पतनको कारण स्मरण गराउँदै शाहीले भने, “हिजो केपी ओलीको सरकार हुँदा पनि उहाँका सांसदहरूले संसद्मा कहिल्यै गल्ती देखाएनन्। सडकमा ‘केपी बा आई लभ यु’ को नारा लगाए, तर अन्ततः दुई दिनमै हेलिकप्टर चढेर भाग्नुपर्ने दिन आयो। सत्ता पक्षले चाकडी गर्ला, तर हामी प्रतिपक्षले बाटो देखाउँदा विरोध नसम्झिनुहोस्। हामी सरकारका प्रतिपक्ष हौँ, शत्रु होइनौँ; समर्थक हौँ, तर दास होइनौँ।”
‘आन्दोलनमा गोली हान्ने र सिंहदरबार जलाउने खोइ जेल परेको?’
शाहीले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको जगमा वर्तमान सरकार बनेको स्मरण गराउँदै ६ महिना बित्दा पनि हत्यारा र अपराधीहरू खुला हिँडिरहेको बताए।
“सडकमा हुँदा गृहमन्त्री र प्रधानमन्त्रीले घाँटी सुकाई-सुकाई हत्यारा हुन् भनेर कराएका व्यक्तिहरूमध्ये एक जनालाई पक्राउ गर्न सक्नुभयो?” उनले प्रश्न गरे, “७६ जना युवाको ज्यान तपाईंहरूलाई सत्ताको भर्याङ चढ्नका लागि मात्र गएको थिएन। मानवअधिकार आयोगले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र व्यक्तिगत सम्पत्ति जलाउने अपराधीहरूको प्रमाण बुझाएको ६ महिना भइसक्यो, किन कारबाही भएन?”
उनले भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको घर जलाउनेदेखि व्यक्तिगत सम्पत्ति नष्ट गर्नेहरूलाई तत्काल कठघरामा उभ्याउन माग गरे।
ठूला काण्ड र चिनियाँ जहाज घोटालाको प्रश्न
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारी प्रतिबद्धताप्रति प्रश्न उठाउँदै शाहीले अनुसन्धान केवल 'च्याप्प समाउने, सुनपानी छर्किने र निर्दोष बनाएर छाड्ने' नाटकमा सीमित भएको आरोप लगाए।
उनले अगाडि भने, “चीनबाट करिब ६ अर्ब ६७ करोडमा किनिएका ५ वटा जहाज उड्नै नसकेर त्रिभुवन विमानस्थलको कुनामा सडिरहेका छन्। त्यो सम्झौता गर्ने तत्कालीन प्रधानमन्त्री अहिलेका गृहमन्त्रीसँग कुममा कुम जोडेर हिँडिरहेका छन्, यसको अनुसन्धान कहिले हुन्छ?”
उनले वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन, लडाकु शिविर, गिरीबन्धु र सहकारी ठगी प्रकरणका फाइलमाथि ठोस कारबाही गर्न चुनौती दिए।
ठगीका नाइके विदेशमा मोज, नागरिकको ८७ अर्ब डुब्यो
सहकारी पीडितको पक्षमा बोल्दै शाहीले सडक किनारमा मकै पोल्ने, साग बेच्ने र भाँडा माझेर कमाएको गरिबको ८७ अर्ब ८९ करोड रुपैयाँ जिबी राईसहितका ठगहरूले लुटेको बताए।
“संसद्को समितिले नै पुष्टि गरेको यो रकम अपचलन गर्नेहरू कोही बेलायत, कोही मलेसियामा मोज गरिरहेका छन्,” उनले भने, “५/१० हजार दिएर झारा टार्ने नाटक बन्द गर्नुहोस्। इन्टरपोलको रेड कर्नर नोटिस कार्यान्वयन गरेर उनीहरूलाई नेपाल ल्याई गरिबको पैसा फिर्ता गराउनुहोस्।”
स्वास्थ्य बिमा कटौती र युवा पलायनको पीडा
सरकारले स्वास्थ्य बिमामा कटौती गरेर गरिब नागरिकलाई उपचारबाट वञ्चित गराएको भन्दै उनले आक्रोश पोखे।
त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा गरिब जनताले उपचारका लागि ६ महिना पालो कुर्नुपरेको र पैसा नहुँदा बिरामी बन्धक बन्नुपर्ने अवस्था आएको उनले बताए। राजालाई जति गाली गरे पनि आजका सबै ठूला सरकारी अस्पताल राजाकै पालामा बनेको स्मरण गराउँदै उनले स्वास्थ्य बिमा तत्काल पुनर्बहाली गर्न माग गरे।
विमानस्थलमा युवाहरूको लामो लाइनको चर्चा गर्दै उनले भावुक शैलीमा भने, “हामी यस्तो नेपाल चाहन्छौँ, जहाँ छोराले विदेशबाट फोन गरेर ‘आमा म ठिक छु’ भन्नु नपरोस्, बरु आमा र छोरा यही देशमा सँगै बसेर ‘हामी ठिक छौँ’ भन्ने दिन आओस्।”
सुरुङ दुर्घटनामा भाइ गुमाएको पीडा
भाद्र महिनाको बाढी र सुरुङ विपद्मा आफ्नो जिल्लाका ५९ जना नागरिकले ज्यान गुमाएको र आफ्नै भाइ अझै बेपत्ता रहेको पीडा शाहीले संसद्मा सुनाए।
“गृहमन्त्रीको कोठा धाउँदा-धाउँदा २२ दिनपछि मात्रै सेना सुरुङमा पुग्यो,” उनले भावुक हुँदै भने, “अबका दिनमा कुनै पनि नेपाली नागरिक उद्धारको पर्खाइमा सुरुङभित्रै मर्न नपरोस्।”
अन्त्यमा, उनले सरकारलाई भ्रष्टाचारविरुद्ध खुट्टा नकमाउन आग्रह गर्दै भने, “तपाईंहरू इमानदारीपूर्वक भ्रष्टाचारीमाथि कारबाही अघि बढाउनुहोस्। सडकमा उभिनुपरे सडकमा उभिन्छौँ, संसद्मा उभिनुपरे संसद्मा उभिन्छौँ, ल्याप्चे लगाउनुपरे ल्याप्चे लगाउँछौँ- हाम्रो पूर्ण साथ रहनेछ। तर, सत्ताको शक्ति प्रतिशोधका लागि होइन, न्यायका लागि प्रयोग गर्नुहोस्।”
असोज १६, २०८३ शुक्रबार १४:१४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।