‘६ महिनामै सरकार नवफासीवादतिर गयो, प्रतिबद्धताहरू दराजमा हाँसिरहेका छन्’
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता प्रमेश कुमार हमालले वर्तमान सरकार गठन भएको ६ महिनामै ‘नवफासीवाद’ (नियो-फासिज्म) को बाटोमा अग्रसर भएको गम्भीर आरोप लगाएका छन्।
प्रतिनिधि सभाको चालु अधिवेशनको अन्तिम बैठकलाई बिहीबार सम्बोधन गर्दै सांसद हमालले सरकारले सुरुवाती दिनमा सार्वजनिक गरेका नीति तथा सय बुँदे प्रतिबद्धताहरू अलपत्र परेको भन्दै तीखो व्यङ्ग्य गरे।
रोस्ट्रमबाट सरकारको कार्यशैलीको कडा आलोचना गर्दै उनले भने, “सरकारले सुरुमा गरेका ती सय बुँदे प्रतिबद्धताहरू अहिले मन्त्रालयको दराजका कुनै कुनामा थन्किएर आफैँ हाँसिरहेका होलान्। सरकार आफ्ना वाचाहरूमा कत्ति पनि टिक्न सकेन, उल्टै ६ महिनामै निरंकुश र नवफासीवादी चरित्र देखाउन थाल्यो।”
‘बिनापुर्जी गिरफ्तारी र संवैधानिक निकायमाथि हस्तक्षेप’
सांसद हमालले सरकारले सुशासनको नाममा नागरिक अधिकार कुण्ठित गर्दै राज्य आतंक सिर्जना गरेको दाबी गरे।
“ट्रेड युनियनमाथि प्रतिबन्ध लगाइएको छ, कर्मचारीहरूलाई त्रसित बनाइएको छ,” उनले भने, “नेता, बुद्धिजीवी, व्यवसायी, पत्रकार र पूर्वप्रधानन्यायाधीशलाई समेत बिनाकारण र बिनापक्राउ पुर्जी आतंकित बनाउने काम भइरहेको छ। यो नवफासीवाद होइन भने के हो?”
संवैधानिक निकायहरूलाई सरकारले आफ्नो लाचार छाया बनाउन खोजेको आरोप लगाउँदै उनले अख्तियारका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्रीको सचिवालयमा तानेर तर्साउने हर्कत गरिएको समेत दाबी गरे।
संसद् छल्ने र जनता ढाँट्ने काम भयो
सांसदहरूले उठाएका जनसरोकारका हजारौँ सवालप्रति सरकार पूर्ण रूपमा उदासीन रहेको उल्लेख गर्दै उनले संसद् र सरकारबीचको ‘ट्युनिङ’ नै भत्किएको बताए।
अधिवेशन सुरु हुनासाथ स्थगित गरेर अध्यादेश ल्याउने र संसद्लाई छलेर शासन चलाउने प्रवृत्ति लोकतन्त्रविरोधी भएको उनको ठहर थियो।
अर्थतन्त्रको भयावह अवस्था चित्रण गर्दै हमालले महँगीले आकाश छोएको, वर्षा सकिँदा पनि विकास खर्च ४ प्रतिशतमा सीमित रहेको र पासपोर्ट तथा राष्ट्रिय परिचयपत्र लिन जनताले अझै सास्ती खेप्नुपरेको बताए।
पपुलिस्ट (लोकरिझ्याइँ) का कार्यक्रम ल्याएर जनतालाई भ्रममा पार्न खोजेको भन्दै उनले सरकार समयमै नसच्चिए मुलुक अझ गम्भीर आर्थिक तथा राजनीतिक संकटमा फस्ने चेतावनी दिए।
असोज १६, २०८३ शुक्रबार १४:०१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।