‘वालेन्द्र सरकारका ६ महिना पूर्ण रूपमा फासीवादीमा बित्यो’

‘वालेन्द्र सरकारका ६ महिना पूर्ण रूपमा फासीवादीमा बित्यो’

काठमाडौं : प्रतिपक्षी दल एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार अधिनायकवादी र फासीवादी बाटोमा हिँडेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका ६ महिना पूर्ण रूपमा ‘फासीवादी शासन’मा बितेको टिप्पणी गरे।

सरकारलाई चेतावनी दिँदै उनले नेपाली उखान उद्धृत गरे, “हामीले बारम्बार फासीवाद छाडेर लोकतन्त्रको मार्गमा फर्कन अपिल गर्यौँ। तर भीरबाट लड्ने गोरुलाई राम-राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन।”

‘अब कसको पालो ? मध्यरातमा जो-कोही पक्राउ पर्न सक्छन्’
नेता थापाले बालेन सरकारले सुशासनको आवरणमा राजनीतिक प्रतिशोध साधेको दाबी गरे।

“यो सरकारको यात्रा पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरू भएको थियो, अहिले पूर्वप्रधानन्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ,” उनले भने, “अब कसको पालो? कस-कसको पछाडि सुराकी खटाइएको छ? भोलि मध्यरातमा कुनै पूर्वसभामुख वा प्रमुख नेता गैरकानुनी रूपमा पक्राउ पर्नु अनौठो हुनेछैन।”

उनले सरकारले विधि र संविधान मिचेर अध्यादेश र आदेशका भरमा शासन चलाउन खोजेको भन्दै अदालतले त्यसलाई रोकेर गैरकानुनी गिरफ्तारीहरू खारेज गरिदिएको स्मरण गराए।

विपद्‌मा अहंकार र ‘स्टन्टबाजी’
भदौको महाविपद्का बेला सरकारको भूमिका सन्तोषजनक नरहेको बताउँदै उनले मन्त्री र सांसदहरू राहत तथा उद्धारभन्दा आत्मप्रचार र ‘स्टन्टबाजी’मा रमाएको आरोप लगाए।

“सुरुमा अहंकार देखाएर विदेशी सहयोग लिन ढिलाइ गरियो। संसारमा सुरुङ सफा गर्ने प्रविधि छैन भन्दै पीडितको संवेदनशीलतामाथि खेलबाड गरियो,” थापाले भने, “सुकुम्बासी बस्तीहरूमा डोजर दौडाउँदा सरकारले गरिबको रोदन कहिल्यै सुनेन।”

विपद् सामनाका लागि सर्वपक्षीय संयन्त्र र संसदीय समिति बन्नु सकारात्मक भए पनि त्यसमा राष्ट्रियसभालाई नसमेटिनु त्रुटिपूर्ण रहेको उनको भनाइ थियो।

संसद्‌मा ‘संख्याको दम्भ’
संसद्को ६ महिनाको समीक्षा गर्दै नेता थापाले सत्तापक्षले प्रतिपक्षलाई ‘पूरक नभई बाधक’ ठानेको आरोप लगाए।

संसद्‌मा विधेयक पारित गर्दा प्रतिपक्षको संशोधन र कमा-पूर्णविरामसमेत स्वीकार नगरी संख्याको बलमा पेलेर अघि बढेको उनले बताए। यद्यपि, पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न खोज्नु र सत्तापक्षकै सांसदहरूले सरकारको हुकुमी शैलीमाथि प्रश्न उठाउनु सकारात्मक संकेत भएको उनको टिप्पणी थियो।

चाडबाडमा नागरिकले आशीर्वाद होइन, श्राप दिने अवस्था
सरकारले ल्याएको बजेटले नवउदारवादलाई पोसेको र ठूला व्यापारीलाई मात्र धनी बनाएको आरोप लगाउँदै उनले शिक्षा, स्वास्थ्य र विद्युत्मा कर बढाएर जनताको ढाड सेकेको बताए। अवैध रूपमा करको दर हेरफेर गरेर त्यसलाई ढाकछोप गर्न धम्की दिइएको आरोपसमेत उनले लगाए।

आउँदै गरेको दशैं-तिहारको सन्दर्भ जोड्दै बादलले भने, “जनता महँगी र मन्दीको मारमा छन्। सत्तापक्षकै एक माननीयले भन्नुभए झैँ यो पर्वमा नागरिकले हामीलाई आशीर्वाद होइन, श्राप दिने अवस्था सिर्जना भएको छ।”

अन्त्यमा, चुनावमा रास्वपा र बालेन्द्र शाहले पाएको मतलाई स्वीकार गरे पनि त्यो पराजय आत्मसमर्पण नभएको स्पष्ट पार्दै थापाले भने, “लोकतन्त्रको अर्थ फगत संख्या र शक्ति होइन, संवाद र सहमति हो। फासीवादबाट कहिल्यै देश बन्दैन, शक्तिको अन्तिम स्रोत जनता नै हुन्।”

असोज १६, २०८३ शुक्रबार १३:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।