केरामा ‘ब्ल्याक सिगाटोका’को प्रकोप, किसानलाई उत्पादनसँगै बजारको चिन्ता

केरामा ‘ब्ल्याक सिगाटोका’को प्रकोप, किसानलाई उत्पादनसँगै बजारको चिन्ता

बुटवल : केही समय अघिसम्म राम्रो बजार भाउ पाउँदा केराखेती विस्तारमा उत्साहित बनेका पश्चिम नवलपरासीका किसान अहिले ‘ब्ल्याक सिगाटोका’ रोगको प्रकोप फैलिएपछि चिन्तित बनेका छन्।

जिल्लाको सुस्ता र प्रतापपुर क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरामा यो रोग फैलिएपछि उत्पादनसँगै बजारमा समेत गम्भीर असर परेको छ।

किसान तथा केरा जोन सञ्चालक समितिका संयोजक युवराज मौर्याका अनुसार यस क्षेत्रका अधिकांश केरा बगैँचामा ब्ल्याक सिगाटोकाको प्रकोप देखिएको छ।

कतिपय बगैँचामा रोग तीव्र गतिमा फैलिएको छ भने कतिपयमा आंशिक रूपमा देखिएको छ,” उनले भने। रोग लागेपछि केराको पातमा साना खैरा तथा काला धर्सा र धब्बा देखिने र क्रमशः पात सुक्दै जाने गरेको उनले बताए।

पात सुकेर प्रकाश संश्लेषण हुन नपाएपछि बोटमै समयअगावै केरा पाक्न थालेको छ। यस्तो केरा लामो समय नटिक्ने भएकाले व्यापारीले किन्न मानिरहेका छैनन्, जसले गर्दा किसान आफैँ सस्तो मूल्यमा बजार लगेर बेच्न बाध्य भएका छन्।

प्रतापपुरका किसान नारायण कोइरीले अहिले रोग लागेको केरा प्रतिदर्जन २० देखि २५ रुपैयाँसम्ममा बेच्नुपरिरहेको गुनासो गरे।

उनले भने, “पहिले राम्रो मूल्य पाएका थियौँ, अहिले रोग लागेपछि व्यापारीले केरा लिन मान्दैनन्। आफैँ बजार लगेर कौडीको भाउमा बेच्नुपरेको छ।”

उनका अनुसार यसको असरका कारण स्वस्थ केराको मूल्यसमेत घटेर प्रतिदर्जन करिब ४० रुपैयाँमा झरेको छ।

रोग देखिएपछि सुरुमा केही किसानले भारतबाट जथाभावी विषादी ल्याएर प्रयोग गरेका थिए। तर, त्यसले रोग नियन्त्रण हुनुको सट्टा झन् बल्झिएपछि किसानले प्राविधिक सहयोग मागेका हुन्।

समस्या समाधानका लागि बाली उपचार शिविर सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रूपन्देहीका प्रमुख शालिकराम पौडेलले जानकारी दिए।

“किसानलाई रोगको पहिचान, फैलिने कारण र नियन्त्रणका उपायबारे जानकारी दिनुका साथै आवश्यक विषादीसमेत उपलब्ध गराएका छौँ,” उनले भने।

रोगको अवस्था यकिन गर्न बाली रोग विशेषज्ञसहितको टोलीले केराका बोट र पातको नमुना संकलन गरेको छ। बाली रोग विशेषज्ञ तथा वरिष्ठ कृषि वैज्ञानिक लक्ष्मण अर्यालले अनुमानका भरमा जथाभावी विषादी प्रयोग नगर्न किसानलाई सुझाव दिएका छन्।

“रोग नियन्त्रणका लागि संक्रमित पात काटेर नष्ट गर्नुपर्छ। साथै बगैँचामा हावाको आवतजावत र चिस्यान व्यवस्थापनमा ध्यान दिनुपर्छ,” वैज्ञानिक अर्यालले भने, “संक्रमित पात हटाउँदा रोग फैलिने जीवाणु नष्ट हुनुका साथै समयअगावै फल पाक्ने समस्या घटाउन सहयोग पुग्छ। विषादी प्रयोग गर्दा अनिवार्य रूपमा प्राविधिकको सिफारिस लिनुपर्छ।”

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुस्ता र प्रतापपुर क्षेत्रमा सञ्चालित ‘केरा जोन’ पछिल्लो पाँच वर्षमा ९४० हेक्टर क्षेत्रफलमा विस्तार भइसकेको छ।

केराखेती विस्तार भइरहेका बेला फैलिएको यो प्रकोपलाई समयमै नियन्त्रण गर्न प्रभावकारी प्राविधिक सेवा र व्यवस्थापन आवश्यक देखिएको छ।

असोज १६, २०८३ शुक्रबार १२:५४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।