कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा आज बस र ट्रक एकापसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०३-००१ ख ००९९ नम्बरको बस ठोक्किँदा बस चालकको मृत्यु भएको हो।

बाँकेको खजुरा गाउँपालिका-५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका बसका ११ जना यात्रुको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि मोरङको कानेपोखरी गाउँपालिका-२ का ट्रक चालक रूपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज १६, २०८३ शुक्रबार ११:११:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।