खुलामञ्चमा कांग्रेस महाधिवेशनको तीव्र तयारी
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा भौतिक संरचना निर्माणको तयारी तीव्र पारिएको छ।
पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज १८ गते हुने महाधिवेशनको भव्य उद्घाटनका लागि मञ्च तथा अधिवेशनस्थल तयार पार्ने कामलाई तीव्रता दिएको हो।
महाधिवेशन आयोजक समितिले अहिले खुलामञ्चको चौरमा विशाल ट्रस्ट डोम ठड्याउने काम गरिरहेको छ।
प्रतिनिधि तथा कार्यकर्ता अट्ने गरी पानी र घाम छेक्ने आधुनिक प्रविधिको विशाल पण्डाल र भव्य मञ्च निर्माणमा प्राविधिक तथा मजदुरहरू खटिएका छन्। चौरमा भुइँ मिलाउने र बस्ने व्यवस्थाका लागि आवश्यक संरचना तयार गरिँदै छ।
देउवा पक्षको समानान्तर वडा अधिवेशन सुरु
एकतर्फ खुलामञ्चमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्याइरहँदा अर्कोतर्फ पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने समानान्तर रूपमा आफ्ना सांगठनिक गतिविधि अघि बढाएको छ।
असोज १८ गते खुलामञ्चमा केन्द्रीय महाधिवेशन उद्घाटन हुने तालिका सार्वजनिक भइसकेको अवस्थामा देउवा पक्षले आजैदेखि देशभर छुट्टै वडा अधिवेशन गरेको हो।
गत पुस महिनामा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि पार्टीभित्र विवाद र ध्रुवीकरण चुलिएको थियो।
देउवा समूहले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै संस्थापन पक्षका गतिविधिलाई चुनौती दिँदै आएको छ।
असोज १६, २०८३ शुक्रबार १०:३५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।