दशैंअघि संघीय संसद्का दुवै सदनको अन्तिम बैठक आज बस्दै

दशैंअघि संघीय संसद्का दुवै सदनको अन्तिम बैठक आज बस्दै

काठमाडौं  : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ।

बिहान ११  बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा यसअघि सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।

साथै, मन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नेछन्।

यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछिन्।

आजको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नुहुनेछ भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन्।

राष्ट्रियसभाको बैठक
यसैबीच, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ। बैठकमा मन्त्रीहरूले मौखिक तथा लिखित प्रश्नका उत्तरहरू टेबुल गर्नेछन् ।

साथै, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची रहेको छ।

दशैंअघि बस्न लागेको संघीय संसद्का दुवै सदनको यो नै अन्तिम बैठक हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालु बजेट अधिवेशन शुक्रबार मध्यरातिदेखि लागू हुने गरी अन्त्य गरिसकेका छन्। अब हिउँदे अधिवेशन चाडबाड सकिएपछि सुरू हुनेछ।

असोज १६, २०८३ शुक्रबार ०७:१८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।