साल्ट ट्रेडिङलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङलाई तीन लाख जरिवाना

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन विपरीत कसुर गरेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम कसुर गरिएको भन्दै सो कारबाही गरेको हो।

विभागले सात दिनभित्र जरिवाना रकम तिर्न आदेश दिएको छ। तोकिएको अवधिभित्र जरिवाना रकम नबुझाए  थप कारबाही हुनेसमेत आदेशमा उल्लेख छ।

यस्तै, उक्त आदेश चित्त नबुझेमा आदेश प्राप्त भएको सात दिनभित्र जरिवाना रकमको ५० प्रतिशत रकम धरौटीस्वरूप सम्बन्धित खातामा जम्मा गरी विभागका महानिर्देशकसमक्ष पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था रहेको जानकारीसमेत गराइएको छ।

उक्त ऐनको दफा ३८ को खण्ड ‘ङ’ मा अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराए बापत कारबाही गर्ने प्रावधान छ। विभागले काठमाडौं महानगरपालिका–१३ का साल्ट ट्रेडिङ कर्पोरेशनलाई प्रज्वलमान प्रधानका नाममा पत्र पठाउँदै उक्त  जरिवाना तिर्न निर्देशन दिएको विभागद्वारा प्रेषित पत्रमा उल्लेख छ।

असोज १५, २०८३ बिहीबार १८:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।