हिमलुङ हिमपहिरो : थप चार जनाको शव भेटियो, ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

हिमलुङ हिमपहिरो : थप चार जनाको शव भेटियो, ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
तस्विर स्रोत : नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन

काठमाडौं : मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या ११ पुगेको छ।

हराइरहेकाहरूको खोजी गर्ने क्रममा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले बिहीबार थप चार जनाको शव फेला पारेको जनाएको छ। थप चार शव फेला परेसँगै हिमलुङ हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको हो। 

अनुभवी माउन्टेन गाइड पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको टोलीले आज पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको थियो।

यही असोज ११ गते हिमलुङ हिमालमा भीषण हिमपहिरो गएको थियो। उक्त हिमपहिरोमा परी कुल १६ जना बेपत्ता भएका थिए। जसमध्ये ११ जनाको शव फेला परेको छ भने बाँकी ५ जना अझै बेपत्ता छन्।

असोज १५, २०८३ बिहीबार १५:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।