चोलेन्द्र नियन्त्रणमा लिएको घटनाबारे राष्ट्रियसभामा सरकारको जवाफ
काठमाडौं : राष्ट्रियसभामा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरी नियन्त्रणमा लिइएको घटनाको कारण, कानुनी आधारबारे संसद्लाई स्पष्ट पार्न सरकारसँग माग गरिएको छ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले राणालाई नियन्त्रणमा लिइएको विषय उठाउँदै यसबारे सरकारसँग जवाफ माग गरेका हुन्। सांसद खम्मबहादुर खातीले राणालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सभाध्यक्षमार्फत सरकारसँग स्पष्ट जवाफ माग गरे।
सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले उनको गिरफ्तारीप्रति विरोध जनाउँदै यसबारे गृहमन्त्रीले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने माग गरे। प्रहरीले उनलाई नियन्त्रणमा लिनुको कारण सार्वजनिक नगरेको भन्दै त्यसबारे सरकारसँग आधिकारिक जानकारी माग गरिएको छ।
राणालाई असोज ११ गते राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको भन्दै सभा सदस्यहरूले उनलाई सोधपुछपछि घरमै सुरक्षा दिनेगरी छाडिएको सार्वजनिक विवरणबारे सरकारसँग जानकारी माग गरेको हो।
बैठकमा सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे। धमेन्द्र पासवानले रौतहटमा होचो बाँधका कारण समस्या हुने गरेको भन्दै अग्लो तटबन्ध निर्माण गर्न माग गरे।
सांसद मीना सिंह रखालले कर्णालीका सडक जोखिमपूर्ण रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडक तथा पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्। सांसद रेखाकुमारी झाले वर्षायाममा हुने बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण तथा प्रभावित नागरिकलाई सुरक्षित वासस्थान र पुनः स्थापनाको व्यवस्था गर्न माग गरिन्।
असोज १५, २०८३ बिहीबार १४:३७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।