बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
काठमाडौं : बझाङको सुर्मा गाउँपालिका-२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार बिहान दौलिचौरबाट चैनपुरतर्फ जाँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी जिप चालक बझाङ, सुर्मा गाउँपालिका -०४ का २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको हो। जिपमा सवार तीन जनामध्ये दुर्घटनामा परेर जयपृथ्वी नगरपालिका-८ की २५ वर्षीया बिपना बोहरा र भारतको कलकत्ता ठेगाना भएका ४५ वर्षीय सुबाशिस दास गुप्ता घाइते भएका छन्।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १५, २०८३ बिहीबार १३:५५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।