पार्टी हितविपरीत लाग्नेलाई कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

पार्टी हितविपरीत लाग्नेलाई कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको १५औं महाधिवेशन प्रक्रियामा सहभागी भएर पनि पार्टी हितप्रतिकूल गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

समितिका कार्यवाहक संयोजक रमेश धमलाले एक विज्ञप्ति जारी गर्दै पार्टीका कुनै पनि तहका पदाधिकारी, निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यहरूलाई अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन निर्देशन दिएका छन्।

महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढिसकेपछि पनि कतिपय व्यक्तिहरू कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको समितिले जनाएको छ।

यस्ता गतिविधिलाई गम्भीरताका साथ निगरानीमा राखिएको उल्लेख गर्दै कार्यवाहक संयोजक धमलाले पार्टीको मर्यादा र नीतिविपरीत काम गर्नेहरूमाथि तत्काल कडा कारबाही प्रक्रिया अघि बढाउन समिति बाध्य हुने स्पष्ट पारेका छन्।

यसैबीच, अनुशासन समितिले वडा, पालिका र क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भएकोमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेको छ।

असोज १५, २०८३ बिहीबार १३:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।