खोलामा पुल बन्यो, जाने बाटो छैन

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा निर्माण भएको झोलुङ्गे पुल बाटो नहुँदा वर्षौँदेखि प्रयोगविहीन बनेको छ। 

आर्थिक वर्ष २०७६/७७ मा ३८ लाख ६५ हजार २०८ रुपैयाँको लागतमा बनेको ७७.४० मिटर लम्बाइ र १०६ सेन्टिमिटर चौडाइको यो पुल बाटो अभावका कारण स्थानीयका लागि उपयोगहीन बन्न पुगेको हो।​​​​​​​

पुल निर्माणका क्रममा जोडिएको जमिनको मुआब्जा जग्गाधनीलाई दिइए पनि त्यसभन्दा तल पर्ने निजी जमिनबाट मुलबाटो जोड्ने बाटो नभएपछि समस्या खडा भएको हो। अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाको वडा नम्बर ४ ले घोरेटो बाटो निर्माणका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरे पनि जग्गाधनीले खेतबाट बाटो दिन अस्वीकार गरेको कार्यवाहक वडाध्यक्ष इन्द्रसिंह धामीले जानकारी दिए।​​​​​​​

वि.सं. २०७५ वैशाख २ गते मालिकार्जुन गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माण गर्ने सहकार्य भई समाज कल्याण समाजको प्राविधिक सहयोगमा बनेको यो पुल प्रयोगमा नआउँदा हुनैनाथ मावि चन्दनपुर, वडा कार्यालय र स्वास्थ्यचौकी जाने सेवाग्राही तथा सर्वसाधारण विशेषगरी बर्खायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।​​​​​​​

झोलुङ्गे पुल निर्माण भए पनि प्रयोगमा नआउँदा त्यस क्षेत्रका स्थानीयले वडा कार्यालय र स्थानीय सरकारलाई पुल सञ्चालनका बारेमा मौखिक र लिखित रुपमा आग्रह गरे पनि समस्या पहिलाको जस्तै रहेको स्थानीयले बताएका छन्।

असोज १५, २०८३ बिहीबार १०:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।