सिन्धुली र धादिङमा अरिङ्गालको टोकाइबाट दुई जनाको मृत्यु, एक घाइते
काठमाडौं : सिन्धुली र धादिङमा अरिङ्गालको टोकाइबाट दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार छुट्टाछुट्टै स्थानमा भएका यी घटनामा एक वृद्धा र एक पुरुषको ज्यान गएको हो।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ राताटार बस्ने ७३ वर्षीया बिमला परियारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।
बुधबार साँझ करिब ७ बजे खुर्कोट बजारबाट घर फर्कने क्रममा स्थानीय भीम ज्योति क्याम्पस नजिक अरिङ्गालले उनलाई आक्रमण गरेको थियो।
अरिङ्गालको टोकाइबाट उनी बाटोमै अचेत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले घाइते परियारलाई उद्धार गरी उपचारका लागि स्थानीय शुभजीवन अस्पताल पुर्याएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
यसैगरी, धादिङको धुनिबेँसी नगरपालिका-९ रानागाउँस्थित पाखोमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका-९ घर भई हाल धुनिबेँसीमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका ३७ वर्षीय कमानसिंह घर्तीमगर रहेका छन्।
बुधबार साँझ घर नजिकैको पाखोमा अरिङ्गाल पोल्ने क्रममा घर्तीमगर र स्थानीय ५३ वर्षीय राम तामाङलाई अरिङ्गालले चिलेको थियो।
शरीरका विभिन्न भागमा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका घर्तीमगरलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो।
उनको उपचारकै क्रममा बिहीबार बिहान ४:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। सामान्य घाइते भएका अर्का व्यक्ति भने प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
असोज १५, २०८३ बिहीबार ०९:२२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।