सिरहामा ११ सय किलो गाँजासहित बोलेरो र मोटरसाइकल नियन्त्रणमा, चालक फरार
सिरहा : सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ सय किलोभन्दा बढी अवैध गाँजासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
गएराति करिब १ बजे सुखीपुर नगरपालिका-१० स्थित विश्वकर्मा चोक नजिकै गागन खोलाको पुलबाट उक्त गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मातहतको सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो।
सुरक्षाकर्मीलाई देख्नासाथ चालकहरू सवारीसाधन सडकमै छाडेर फरार भएका थिए।
त्यसपछि जाँच गर्दा बोलेरोभित्र २६ वटा बोरामा प्याक गरी राखिएको १ हजार १०२ दशमलव ६५५ किलोग्राम (११०२.६५५ केजी) गाँजा फेला परेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बरामद गरिएको गाँजा, गाडी र मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। फरार चालकहरूको खोजी भइरहेको छ।
असोज १५, २०८३ बिहीबार ०९:०१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।