प्रेस काउन्सिललाई सुरजको जवाफ : "म पत्रकार हैन, हाम्रो सामग्रीले सेनाको योगदानलाई उजागर गरेको छ"

प्रेस काउन्सिललाई सुरजको जवाफ :

काठमाडौं : सैनिक अस्पतालको आइसियुमा सुरुङबाट उद्धार गरिएका सञ्जय शाह र कबिर महर्जनको अन्तर्वार्ता लिएर विवादमा आएका एसआरएस डिजिटल प्राइभेट लिमिटेडका सञ्चालक सुरज सिंह ठकुरीले प्रेस काउन्सिल नेपालको पत्रको जवाफ दिँदै आफू पत्रकार नभएको र सञ्चारकर्मीको सामग्रीको अनुगमन गर्ने क्षेत्राधिकार काउन्सिलसँग नभएको तर्कसहित जवाफ पठाएका छन्।

उनले जवाफमा काउन्सिलले पत्रकार र संचार संस्थाहरूलाई मात्र नियमन गर्ने भनेर जवाफ दिएको काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले उकेरालाई जानकारी दिए।

सञ्चालक ठकुरीले जवाफमा 'इनसाइड द बङ्कर' पत्रकारिता गर्ने उद्देश्यले सञ्चालन गरिएको च्यानल नभई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको प्राइभेट लिमिटेड कम्पनी रहेको तर्क गरेका छन्। उनले आफू पत्रकार नभई सञ्चारकर्मी भएको र सोही कारण सबै प्रश्नहरूको जवाफ कार्यक्रमको सुरुमै दिइएको उल्लेख गर्दै काउन्सिललाई जवाफ दिएका हुन्।

उनले आफ्नो कार्यक्रमले नेपाली सेनाले पुर्याएको योगदान र संकटको समयमा चिकित्सकहरूले गरेको सेवाबाट अन्य प्रभावित व्यक्तिहरूमा मनोबल बढाउने काम गरेको दाबी समेत गरेका छन्। 

ठकुरीले पठाएको जवाफ चित्तबुझ्दो नभएकाले उनलाई पुन दोस्रो पत्र पठाइएको अध्यक्ष श्रेष्ठले बताए। उकेराले ठकुरीले स्वास्थ्य सम्बन्धी प्रोटोकल र पत्रकारिताको संहिता मिचेर अस्पतालको आइसियुमै घाइतेको अन्तर्वार्ता लिएकोबारे समाचार प्रकाशित गरेपछि काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको थियो।

काउन्सिलले मेडिकल प्रोटोकल सम्बन्धी विषयमा नेपाल मेडिकल काउन्सिललाई समेत पत्राचार गरेको थियो। साथै उसले नेपाली सेनाको सैनिक अस्पताललाई समेत कसको अनुमतिमा र कुन प्रक्रिया अनुसार ठकुरीलाई आइसियुमा अन्तर्वार्ता लिन दिएको हो भनेर पत्र पठाएको थियो। ठकुरीबाट जवाफ आए पनि सैनिक अस्पताल र मेडिकल काउन्सिलबाट भने जवाफ आएको छैन।

असोज १४, २०८३ बुधबार २२:५९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।