हिमलुङ हिमपहिरो : थप तीन जनाको शव भेटियो, ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो

हिमलुङ हिमपहिरो : थप तीन जनाको शव भेटियो, ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो

मनाङ : मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या सात पुगेको छ।

बेपत्ताहरूको खोजी गर्ने क्रममा मंगलबार थप तीन जनाको शव फेला परेपछि मृतकको सङ्ख्या सात पुगेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार गोरखाको धार्चे गाउँपालिका-२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलुखर्क गाउँपालिका-३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव फेला परेको छ।

घटनास्थलमा खटिएको अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्की नेतृत्वको पाँच सदस्यीय विशेष टोलीले हिउँ पन्छाएर उनीहरूको शव निकालेको हो।

यही असोज ११ गते हिमलुङ हिमालमा भीषण हिमपहिरो गएको थियो।

हिमपहिरोमा परेर हराइरहेकामध्ये यसअघि आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

असोज १४, २०८३ बुधबार २२:१५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।