‘अध्यक्षलाई झ्यालबाट टिपेर फालिदिन्छु’ भन्ने अभिव्यक्तिपछि प्रेस काउन्सिल र पत्रकार महासंघ आमनेसामने
काठमाडौं : लोककल्याणकारी विज्ञापन कटौतीको विषयमा भएको छलफलका क्रममा एक पत्रकारले काउन्सिल अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्ने अभिव्यक्ति दिएको घटना सार्वजनिक भएपछि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ आमनेसामने भएका छन्।
काउन्सिलका चार जना सदस्यले अध्यक्ष र कर्मचारीमाथि कार्यकक्षमै धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको भन्दै कडा आपत्ति जनाएका छन् भने पत्रकार महासंघले छलफलका क्रममा भएको सामान्य भनाभनलाई अतिरञ्जित बनाएर व्यक्ति लक्षित विज्ञप्ति निकालिएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।
मंगलबार बिहान काउन्सिल अध्यक्षको कार्यकक्षमा ‘छापामाध्यम बचाउ सुझाव कार्यदल’का माग र लोककल्याणकारी विज्ञापनका विषयमा महासंघ नेतृत्वसँग छलफल आयोजना गरिएको थियो।
सोही छलफलका क्रममा महासंघका पूर्वकेन्द्रीय लेखा समिति संयोजक एवं पत्रकार दीपक पाण्डेले काउन्सिल अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ लगायतका धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै काउन्सिलका सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गरेका थिए।
काउन्सिल पक्षले छलफलमा सहभागी अन्य व्यक्तिहरूबाट समेत कर्मचारीमाथि अपमानजनक व्यवहार भएको दाबी गर्दै संस्थागत संवादमा यस्तो धम्कीपूर्ण भाषा स्वीकार्य नहुने स्पष्ट पारेको छ।
‘छलफलमै नभएका सदस्यले विज्ञप्ति निकाले, फिर्ता होस्’
काउन्सिलको विज्ञप्ति सार्वजनिक भएलगत्तै महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार अर्को विज्ञप्ति जारी गर्दै काउन्सिलको कदमप्रति कडा आपत्ति जनाएका छन्।
विज्ञापनको रकम आधासम्म कटौती गरिएपछि मारमा परेका स्वरोजगारमूलक मिडियाको समस्या समाधानार्थ छलफल हुँदा दुवैतर्फबाट भनाभन भएको महासंघले स्वीकार गरेको छ।
तर, अन्त्यमा हार्दिकतापूर्वक बिदा भएको तथ्यलाई बेवास्ता गर्दै पूर्वाग्रही ढङ्गले पत्रकार पाण्डेलाई लाञ्छित गरिएको महासंघको आरोप छ।
महासंघले उक्त छलफलमा उपस्थित नै नभएका काउन्सिलका चार जना सदस्यहरूको हस्ताक्षरबाट एकपक्षीय रूपमा विज्ञप्ति आउनुले काउन्सिलकै संस्थागत र सन्तुलनकारी भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको ठहर गरेको छ।
सामान्य नोकझोकलाई अतिरञ्जित बनाएर निकालिएको उक्त व्यक्ति लक्षित विज्ञप्ति तत्काल फिर्ता लिएर वार्ताको वातावरण सहज बनाउन महासंघले काउन्सिलको ध्यानाकर्षण गराएको छ।
असोज १४, २०८३ बुधबार २१:४९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।