पहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानी अभाव, ट्याङ्करबाट वितरण सुरु
म्याग्दी : केही दिनअघिको निरन्तरको वर्षाका कारण ठाउँ-ठाउँमा गएको पहिरोले खानेपानीको पाइपलाइनमा क्षति पुर्याएपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा खानेपानीको अभाव भएको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको पानीपछि आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनी ल्याइएको १२ किलोमिटर पाइपलाइनमध्ये बैसरीदेखि डल्लेपीपल खण्डमा क्षति पुगेको छ।
मुख्य पाइपलाइन नै पहिरोले बगाएपछि विगत चार दिनदेखि पानी आपूर्ति ठप्प भएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए।
संस्थामार्फत बेनी नगरपालिका–२ हाँडेभिरसहित वडा नं ७ र ८ का करिब एक हजार २१६ घरधुरीका २५ हजार बासिन्दालाई प्रतिसेकेण्ड २४ लिटरका दरले खानेपानी वितरण हुँदै आएको थियो। मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा रहेको वैकल्पिक लिफ्टिङ आयोजनासमेत बाढीले बगाएकाले अहिले बजारवासी जार, बोतलको पानी किन्न र स्थानीय खोल्सा तथा मुहानबाट पानीको जोहो गर्न बाध्य भएका छन्।
खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष गिरीका अनुसार हाल अस्थायी रूपमा पानी आपूर्तिका विकल्पहरू खोजिँदै छ भने दीर्घकालीन समाधानका लागि तीनै तहका सरकारसँग सहयोग मागिएको छ।
“पानीका वैकल्पिक स्रोतको पहिचान गरी अस्थायी रूपमा पानी आपूर्ति गर्न संस्थाले प्रयास गरिरहेको छ”, उनले भने, “बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तीनै तहका सकारको सहयोग मागेका छौ।”
यस्तै, खानेपानीको समस्या बढेपछि बेनी नगरपालिका, बौद्ध युवा क्लब र गङ्गा जिसी फाउण्डेशनको संयुक्त पहलमा ट्याङ्करमार्फत मुहानबाट पानी ल्याएर बजार क्षेत्रमा वितरण गर्न थालिएको क्लबका अध्यक्ष दुर्गा बुढामगरले बताए।
असोज १४, २०८३ बुधबार १७:१८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।