इन्जिनियर सांसदहरुलाई प्रधानमन्त्री वालेन्द्रले भने - 'तपाईंहरु असाधारण मानिस हुनुहुन्छ, विज्ञता अनुसार काम गर्नुहोस्'
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे।
छलफलका क्रममा प्रधानमन्त्री शाहले भने, “तपाईंहरु आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
प्रधानमन्त्री शाहले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए। उनले निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा भने देश विकासका लागि प्राविधिक विषयमा नै केन्द्रित हुन आग्रह गरे।
सांसदहरुलाई 'असाधारण मानिस'को संज्ञा दिँदै प्रधानमन्त्री शाहले यस्ता व्यक्तिहरुले सधैं नयाँ उपाय ल्याउने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षभित्रै मुलुक बन्ने धारणा व्यक्त गरे।
सो छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरु तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामाको उपस्थिति थियो।
असोज १४, २०८३ बुधबार १५:४७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।