दोधारा–चाँदनी झोलुङ्गे पुल भत्किएपछि प्राविधिक अध्ययन सुरु
महेन्द्रनगर : कञ्चनपुरको महाकाली नदीमाथिको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर बाढीले भत्काएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षण गरिरहेको जानकारी दिए।
“हामी पनि पुलस्थलमा आउदैछौँ”, जोशीले भने “अध्ययन टोलीले विस्तृतमा अनुगमन गर्दै जान्छ।”
भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्किनुका साथै पुलको करिब छ मिटर भागसमेत मर्मत गर्नुपर्ने भएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसँगै प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको टोली पनि भत्किएको पुल अनुगमनका लागि दोधारा–चाँदनी गइरहेको बताइएको छ।
यस्तै, कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पुल पुनर्निर्माणका लागि समन्वय भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
त्यसैगरी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारलाई यथाशीघ्र पुल निर्माण गर्न आग्रह गरेका छन्।
“विसं २०५६ मा यहाँबाट निर्वाचित भएपछि मैले पहिलो पटक महाकाली नदीमा झोलुङ्गे पुल बनाई दोधारा–चाँदनी जोड्नुपर्छभन्दा कतिपय साथीहरू असम्भव कुरो भनेर मसित ठट्टा गर्थे”, लेखकले भने, “तर सोही अवधिमा पुल निर्माण प्रारम्भ भएर सरकारकै बजेट र नेपालकै प्राविधिकबाट ऐतिहासिक लामो पुल बनेको थियो।”
असोज १४, २०८३ बुधबार १५:०६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।