मनाङमा थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी
मनाङ : अविरल वर्षासँगै घट्टेखोलाबाट आएको बाढी र लेदोले थुनिएर ताल बनेको मर्स्याङ्दी नदी खुलाउने प्रयास मंगलबार पनि जारी रहेको छ।
नदीको बहाव थुनिएपछि पानी पुलको दायाँ-बायाँ तथा माथिबाट बगिरहेको छ भने आसपासका केही घरहरू डुबानमा परेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार तीनै तहका सरकार र प्राविधिक विज्ञहरूको समन्वयमा एक्साभेटर प्रयोग गरेर नदीको निकास खोल्ने काम भइरहेको छ।
सडक सञ्जाल अवरुद्ध भएका कारण मेसिन चलाउन आवश्यक पर्ने इन्धन नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएको उनले बताए।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले नदीको थप जोखिमलाई मध्यनजर गर्दै छेउको भागबाट तालको बहाव खोल्ने प्रयास भइरहेको जानकारी दिए।
लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलाको बाढीपहिरोका कारण चामे क्षेत्रमा विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको छ।
पुल बग्दा नासोँको ताचै गाउँ सम्पर्कविहीन
यसैबीच, मर्स्याङ्दी नदीको बाढीले नासोँ गाउँपालिका-८ र ९ जोड्ने पक्की पुल बगाएपछि स्थानीयको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
बाढीपहिरोले मोटरबाटो, घोडेटो र गोरेटो बाटोसमेत बगाएपछि नासोँ-८ स्थित ताचै गाउँ जिल्लाका अन्य क्षेत्रबाट पूर्ण रूपमा सम्पर्कविहीन बनेको छ।
गाउँमा आकस्मिक रूपमा बिरामी पर्दासमेत उद्धार गर्न वा बाहिर लैजान सक्ने अवस्था नरहेको स्थानीय रामबहादुर थकालीले बताए।
नासोँ-८ का वडाध्यक्ष याद घलेले गाउँलाई जोड्ने सबै मार्गहरू ध्वस्त भएको बताए।
‘सबै बाटो बगेपछि अन्य गाउँसँगको सम्पर्क टुटेको छ,’ वडाध्यक्ष घलेले भने, ‘म आफैँ वडाको नेतृत्वमा छु, तर स्थानीय स्रोतसाधन र बजेटको अभावले गर्दा तत्काल केही काम अघि बढाउन सकिएको छैन।’
असोज १४, २०८३ बुधबार १३:०२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।