प्रतिनिधिसभा बैठक आज : विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्ने कार्यसूची, पाँच विधेयक अघि बढाइने

प्रतिनिधिसभा बैठक आज : विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्ने कार्यसूची, पाँच विधेयक अघि बढाइने

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ।

आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा विधेयकमाथि संसदीय प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची छ।

संसद् सचिवालयका अनुसार बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई समितिमा पठाउन प्रस्ताव पेस गर्नेछिन्।

त्यसैगरी, कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

चार संसदीय समितिको बैठक पनि आजै
प्रतिनिधिसभासँगै आज सङ्घीय संसद्अन्तर्गतका चारवटा संसदीय समितिका बैठकहरू पनि बस्दै छन्।

संसद् सचिवालयका अनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

असोज १४, २०८३ बुधबार ०७:१९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।