म्यासेजबाटै चोलेन्द्रलाई थ्रेट, पक्राउ नभई ‘रेस्क्यु’ गरिएको प्रष्टीकरण
काठमाडौं : सरकारले अपरिचित समूहबाट मोबाइलमा म्यासेजमार्फत सुरक्षा थ्रेट आएपछि पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको बताए।
राणालाई जेनजी समूहबाट सुरक्षा थ्रेट आएको चर्चा भएको थियो। उक्त विषयमा पत्रकारहरूले जिज्ञासा राख्दा पोखरेलले त्यसको खण्डन गरे। उनले सरकार वा प्रहरी प्रशासनले कतै पनि ‘जेनजी’को नाम नलिएको बताए।
पोखरेलले भने, "जेनजीबाट थ्रेट आएको भनी सरकार वा प्रहरीले भनेको छैन, त्यो सञ्चारमाध्यममा आएको कुरा हो। उहाँलाई अपरिचित समूहबाट फोनमा टेक्स्टमार्फत धम्की आएको हो।"
मोबाइलमा मेसेजमार्फत सुरक्षा थ्रेट आएपछि मात्र राणालाई सुरक्षा निकायले सुरक्षित स्थानमा सारेको उनको भनाइ थियो। राणाको तर्फबाट परिवारका सदस्यले सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दिएको विषयले पनि उक्त कुराको पुष्टि गर्ने पोखरेलले बताए।
“उहाँलाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिइएको पनि होइन। उहाँको परिवारबाटै थप सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन आएको छ,” उनले भने, “सुरक्षामा प्रश्न देखिएपछि रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो।”
असोज १३, २०८३ मंगलबार १८:५३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।