नाकामा रोकिएको सामान छुटाउन २८ लाख घुस लिएको आरोपमा एक अधिकृतसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौं : चिनियाँ नाकामा रोकिएको सामान छुटाउन घुस लिएको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
विभागको बबरमहलस्थित कार्यालयमा उद्योग अनुमति नवीकरण शाखामा कार्यरत अधिकारीले तीन जना व्यक्तिसँग मिलेर सेवाग्राहीसँग 'ह्वाट्सएप'मार्फत बार्गेनिङ गर्दै सामान छुटाउन घुस लिएको खुलेपछि सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरे बापत उनीहरूले २८ लाख २० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ। उक्त रकम कम्पनी, उद्योग तथा भन्सार एजेन्टहरूबाट अधिकारीसहित अन्य प्रतिवादी दोलखाकी रश्मिता श्रेष्ठ, बुटवलका बसन्तकुमार बस्याल क्षेत्री र कैलालीका सुरेश चौधरीको बैंक खातामा गर्न लगाइएको थियो।
‘क्युआर कोड’ प्रयोग गरेर ग्लोबल आईएमई बैंकमा रहेको श्रेष्ठको खातामा १४ लाख ९३ हजार, माछापुच्छ्रे बैंकमा रहेको क्षेत्रीको खातामा ८ लाख ९४ हजार रुपैयाँ, प्रभु बैंकमा रहेको चौधरीको खातामा २ लाख ६९ हजार रुपैयाँ र अधिकारीको प्रभु र नेपाल बैंकका खातामा एक लाख ३९ हजार रुपैयाँ घुस रकम जम्मा गरिएको अख्तियारले जनाएको छ।
अधिकृत अधिकारीसँग घुसबापतको पूरै रकम (२८ लाख २० हजार ३७५ रुपैयाँ) बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरेको छ। यस्तै, घुस रकम जम्मा गर्न प्रयोग गरिएका खातावाला श्रेष्ठ, बस्याल र चौधरी तीनै जनालाई मतियार ठहर गर्दै अख्तियारलाई मुख्य अभियुक्तसरह नै कैद र बिगोबमोजिम जरिवाना गर्न मागदाबी गरेको छ।
असोज १३, २०८३ मंगलबार १५:३९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।