भारतीय राजदूतलाई बिदाइ गर्दै प्रधानमन्त्री शाहले भने : ‘नेपाल-भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ’

भारतीय राजदूतलाई बिदाइ गर्दै प्रधानमन्त्री शाहले भने : ‘नेपाल-भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ’

काठमाडौं : कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भएको बिदाइ भेटमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको उक्त भेटका क्रममा शाहले हालैको बाढीपहिरो तथा विपद्का बेला भारत सरकारले पुर्याएको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरे। 

साथै, श्रीवास्तवको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गर्दै शाहले उनको आगामी जीवनका लागि शुभकामना दिए। 

सोही अवसरमा श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको उल्लेख गरे। नेपाल बसाइका क्रममा सहयोग पुर्याएको भन्दै उनले नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति विशेष धन्यवाद व्यक्त गरे। 

भारतीय विदेश सेवा (आईएफएस) का अनुभवी कूटनीतिज्ञ श्रीवास्तव २०७९ जेठ ३ गते नेपालका लागि भारतको राजदूत नियुक्त भएका थिए। त्यसपछि २०७९ असार ११ गते काठमाडौं आइपुगेर उनले औपचारिक रूपमा आफ्नो तीन वर्षे कार्यभार सम्हालेका थिए।

असोज १३, २०८३ मंगलबार १४:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।