कांग्रेस महाधिवेशनको उद्घाटन दुई दिन सर्‍यो

कांग्रेस महाधिवेशनको उद्घाटन दुई दिन सर्‍यो

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सरेको छ। यसअघि असोज १६ गतेका लागि तय गरिएको उद्घाटन समारोह अब आगामी असोज १८ गते हुने भएको हो।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार एक विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन हुने जानकारी दिएका छन्।

देशभर परेको भारी वर्षा र असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले उद्घाटन मिति सार्नुपरेको कांग्रेसले जनाएको छ।

विज्ञप्तिअनुसार महाधिवेशनअन्तर्गत देशभरका वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशनहरू सम्पन्न भइसकेका छन्। हाल प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू जारी रहेका छन्।

प्राकृतिक विपद् र वर्षाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सबै क्षेत्रका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न उद्घाटनको समय दुई दिन पछाडि सारिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

असोज १३, २०८३ मंगलबार १४:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।