एसियन गेम्स क्रिकेटको चारवटै क्वार्टरफाइनल वर्षाले रद्द, खेल्दै नखेली सेमिफाइनल पुगे भारत र पाकिस्तानसहित चार टोली

एसियन गेम्स क्रिकेटको चारवटै क्वार्टरफाइनल वर्षाले रद्द, खेल्दै नखेली सेमिफाइनल पुगे भारत र पाकिस्तानसहित चार टोली

काठमाडौं : जापानको निसिनमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल वर्षाका कारण एक बल पनि नफाली रद्द भएका छन्।

खेलहरू रद्द भएसँगै प्रतियोगिताअघि नै शीर्ष वरीयता (सिडेड) पाएका चार देश- भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश स्वतः सेमिफाइनलमा प्रवेश गरेका छन्।

विचित्र संयोग के बनेको छ भने, सेमिफाइनल पुगेका चारवटै टेस्ट टोलीले प्रतियोगितामा अहिलेसम्म एक बल पनि खेलेका छैनन्।

अर्कोतर्फ, समूह चरण पार गरेर अन्तिम आठमा स्थान बनाएका नेपाल, अफगानिस्तान, मलेसिया र हङकङ भने क्वार्टरफाइनलमा मैदानमै उत्रिन नपाई अभागी बन्दै प्रतियोगिताबाट बाहिरिएका छन्।

बाहिरिएका चारवटै टोलीको यात्रा समान एक जित, एक हार र एक खेल रद्दसहित समाप्त भएको छ।

बिहीबार दुवै सेमिफाइनल
प्रतियोगिताका दुवै सेमिफाइनल खेल आगामी बिहीबार निसिन मैदानमै हुने तय भएको छ। पहिलो सेमिफाइनलमा पाकिस्तानविरुद्ध बंगलादेश र दोस्रो सेमिफाइनलमा भारतविरुद्ध श्रीलंकाले खेल्नेछन्।

बिहीबार पनि वर्षाको सम्भावना रहे तापनि मौसममा केही सुधार आउने मौसम पूर्वानुमान गरिएको छ। सेमिफाइनल रोकिए भारत र पाकिस्तान फाइनलमा जानेछन्।

प्रतियोगिताको नियमानुसार बाँकी रहेका खेलहरूमा बराबरी (टाई) भएमा नतिजा ‘सुपर ओभर’मार्फत निकालिनेछ।

यदि वर्षाका कारण सेमिफाइनल खेल वा सुपर ओभरसमेत हुन नसकेमा उच्च वरीयता (सिड) का आधारमा टोली फाइनल पुग्नेछन्। आफ्नो खेलमा उच्च वरीयतामा रहेका कारण वर्षा भएमा भारत र पाकिस्तान स्वतः फाइनल पुग्ने समीकरण छ।

त्यस्तै, शनिबार हुने फाइनल खेल पनि वर्षाले रद्द भएमा दुवै टोलीले संयुक्त रूपमा स्वर्ण पदक बाँड्नेछन्। तेस्रो स्थान (कांस्य पदक) को भिडन्त पनि शनिबार नै हुनेछ।

असोज १३, २०८३ मंगलबार १४:०२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।