रोशी क्षेत्रमा भित्री ट्रयाक खोलेर चार दिनपछि खुल्यो बिपी राजमार्ग, जोखिमयुक्त खण्डमा एकतर्फी यातायात सञ्चालन

रोशी क्षेत्रमा भित्री ट्रयाक खोलेर चार दिनपछि खुल्यो बिपी राजमार्ग, जोखिमयुक्त खण्डमा एकतर्फी यातायात सञ्चालन
फाइल तस्बिर

काभ्रेपलाञ्चोक : अविरल वर्षा, बाढी र पहिरोका कारण चार दिनदेखि पूर्ण रूपमा ठप्प बनेको बिपी राजमार्ग पुन: सञ्चालनमा आएको छ।

बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ‘ट्रयाक’ खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए। उनका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ।

रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा अस्थायी डाइभर्सन बगाउनुका साथै दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। हाल जोखिमयुक्त स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ भने ती स्थानमा छिट्टै दुईतर्फी नै खुलाउने गरी काम भइरहेको कार्यालयले जनाएको छ। सडक खुलाउने सोमबार बिहानदेखि अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाउने काम थालिएको थियो। 

असोज १३, २०८३ मंगलबार १३:४०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।