युवतीलाई बाँधेर जलाउन खोज्ने युवक पक्राउ
बिर्तामोड : झापाको बिर्तामोडमा एक युवतीलाई उनकै डेरामा हातखुट्टा बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी ग्राम पञ्चायत घर भई हाल बिर्तामोड-५ स्थित अमृत भोग मिठाई पसलमा काम गर्ने ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्।
प्रहरीका अनुसार असोज १२ गते राति करिब १०:३० बजे अत्यधिक मदिरा सेवन गरेका राय हातमा पेट्रोल लिएर बिर्तामोड-५ मा डेरा गरी बस्ने इलाम, रोङ गाउँपालिका-३ की २२ वर्षीया रविना मगरको कोठामा जबर्जस्ती प्रवेश गरेका थिए।
कोठाभित्र पसेलगत्तै उनले ओछ्यानको तन्ना च्यातेर युवतीको हात, खुट्टा र घाँटी बाँधेका थिए। त्यसपछि शरीरभरि पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरिरहेको अवस्थामा स्थानीय र प्रहरीले थाहा पाएका थिए।
घटनाबारे खबर पाउनासाथ तत्काल पुगेको प्रहरी टोलीले युवतीको उद्धार गर्दै आरोपी रायलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
बर्बर आक्रमणबाट घाइते भएकी युवतीको हाल बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेका रायले कुन उद्देश्यले युवतीको ज्यान लिन खोजेका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १३, २०८३ मंगलबार १२:५७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।