‘जेन-जी आन्दोलन’मा सुन्धारा कारागारबाट भागेका ज्यान मुद्दाका कैदी भीमसेनगोलाबाट पक्राउ

‘जेन-जी आन्दोलन’मा सुन्धारा कारागारबाट भागेका ज्यान मुद्दाका कैदी भीमसेनगोलाबाट पक्राउ
फाइल तस्बिर

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाई कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ९ स्थायी ठेगाना भएका ६० वर्षीय राजकुमार श्रेष्ठ रहेका छन्। उनलाई सीआईबीको टोलीले काठमाडौं महानगरपालिका-३१ स्थित भीमसेनगोलाबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई २०६५ कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए।

तर, उनी २०८२ भदौ २४ गते भएको ‘जेन-जी आन्दोलन’को मौका छोपेर कारागारबाट फरार भएका थिए।

कारागारबाट भागेपछि उनी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए। ब्यूरोबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई असोज १३ गते भीमसेनगोलाबाट नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका श्रेष्ठलाई बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारामा बुझाइएको सीआईबीले जनाएको छ। साथै, प्रहरीले आफ्नो टोल-छिमेकमा अपराध गरी लुकेर बसेका व्यक्तिहरूबारे निरन्तर सूचना दिएर सहयोग गर्न नागरिकहरूलाई अनुरोधसमेत गरेको छ।

असोज १३, २०८३ मंगलबार १२:४९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।