तीन महिनापछि मार्तडी–कोल्टी सडकखण्ड खुलाउने काम सुरु

तीन महिनापछि मार्तडी–कोल्टी सडकखण्ड खुलाउने काम सुरु

बाजुरा : वर्षायाम सुरु भएसँगै गत असार दोस्रो सातादेखि अवरुद्ध रहेको बाजुराको मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम सुरु गरिएको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी सडकका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने र मर्मत गर्ने कार्य भइरहेको छ। अबको केही दिनभित्रै सडक पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।

लगातारको वर्षा, पहिरो र खोलामा पानीको बहाव बढेका कारण सडक अवरुद्ध हुँदा पूर्वी–उत्तरी क्षेत्रका चार पालिकाका साथै छिमेकी हुम्ला र मुगुका नागरिकले सास्ती खेप्दै आएका छन्। सडक बन्द हुँदा यात्रुहरूले मार्तडीबाट कोल्टी पुग्न २ हजार रुपैयाँसम्म भाडा तिर्न बाध्य थिए भने दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानीसमेत ठप्प बनेको थियो।

सडक अवरुद्ध भएपछि यात्रुले मार्तडीबाट कोल्टी पुग्न कम्तीमा दुई हजारसम्म भाडा तिर्नुपर्दथ्यो। सडक बन्दकै कारण बीच बाटोमै सवारी रोकिएका छन् भने दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ। 

बडीमालिका नगरपालिका–८ को बाउली खोला र वडा नं ७ को रजातोली खोलामा पुल नहुँदा तथा जिल्ली, रजातोलीलगायतका स्थानमा पटकपटक पहिरो खस्ने समस्याले हरेक वर्ष सडक अवरुद्ध हुँदै आएको छ। 

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काका अनुसार विगतमा अनाई र दानसाँघु खोलामा पुल बने पनि बाउली खोलाको पुल पाँच वर्षदेखि अधुरै रहनु र रजातोली खोलाको पुल निर्माणमै ढिलाइ हुनुले समस्या बढाएको हो। सडक बन्द हुँदा स्थानीय किसानको स्याउ बजारसम्म पुर्याउन कठिन भएको र धेरैले पिठ्युँमै बोकेर वा वैकल्पिक मार्ग हुँदै धनगढी तथा नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको किसान उज्ज्वल रावतले बताए।

करिब २७ वर्षअघि शिलान्यास भएको यो सडक प्रदेश सरकारको बहुवर्षीय योजनामा रहे पनि स्तरोन्नतिमा ढिलाइ हुँदै आएको छ। पूर्वाधार विकास कार्यालय अछामका अनुसार ठेकेदार कम्पनी 'पीएस बानियाँ निर्माण सेवा'को ढिलासुस्तीका कारण गत आर्थिक वर्षमा मात्रै सडक स्तरोन्नतिका लागि आएको २० करोड रुपैयाँ बजेट कामै नगरी फिर्ता भएको थियो।

असोज १३, २०८३ मंगलबार १२:४४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।