कपिलवस्तुमा गुडिरहेको बसमा ढुङ्गा खस्दा ४ जना घाइते, सिटमा च्यापिएकाहरूको उद्धार
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित चोरखोलामा सडकमाथिबाट ढुङ्गा खसेर यात्रुवाहक बसमा लाग्दा चार जना घाइते भएका छन्। घाइतेहरूको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।
चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ख ३७७० नम्बरको बसमा असोज १३ गते राति करिब १ः३० बजे अचानक सडकमाथिबाट ढुङ्गा खसेको थियो। बसमा सवार ३० जना यात्रुमध्ये ४ जना सिटले च्यापिएर घाइते भएका थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बाबुराम थापाको कमान्डमा खटिएको उद्धार टोलीले सिटमा च्यापिएको अवस्थाबाट चारै जनालाई बाहिर निकालेको हो।
सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार घाइते हुनेहरूमा बर्दियाको गेरुवा गाउँपालिका-२ बस्ने ३७ वर्षीय द्वारिकाप्रसाद थारु र ३५ वर्षीय सुरेशलाल थारु, चितवनको भरतपुर महानगरपालिका-११ बस्ने २० वर्षीया सलिना सुनार तथा कञ्चनपुरको भीमदत्त नगरपालिका-१० बस्ने ४० वर्षीया भगवती कँडेल रहेका छन्।
उद्धार गरिएका घाइतेहरूलाई तत्काल उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पुर्याइएको र उनीहरूको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ। बसका अन्य यात्रुहरू भने सुरक्षित रहेका छन्।
असोज १३, २०८३ मंगलबार ११:२४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।