सांसद राईले प्रधानमन्त्रीलाई सोधे- १० गतेको जिम्मेवारी कहिले पूरा हुन्छ?

सांसद राईले प्रधानमन्त्रीलाई सोधे- १० गतेको जिम्मेवारी कहिले पूरा हुन्छ?

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले नियमावलीअनुसार प्रधानमन्त्रीसँग हुने नियमित प्रश्नोत्तर कार्यक्रम ६ महिना बितिसक्दासमेत सञ्चालन हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै उठेर समय मागेका सांसद राईलाई सभामुखले तीन मिनेटको समय उपलब्ध गराएका थिए।

त्यसक्रममा बोल्दै उनले प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ता सांसदहरूले सोधेका प्रश्नको जवाफ सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्रीले दिने स्पष्ट व्यवस्था भए पनि त्यसको पालना नभएको बताए।

वर्तमान सरकार गठन भएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि नियमावलीबमोजिम एकपटक पनि प्रश्नोत्तर सत्र बस्न सकेको छैन।

यसअघि गत भदौ १० गते प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो। तर, सोही दिन रसुवामा आएको भीषण बाढीका कारण उक्त कार्यक्रम प्रभावित भएको थियो।

बाढीपछि प्रधानमन्त्री शाहले सदनमा उपस्थित भएर सरकारले गरेका उद्धार तथा राहतका कामबारे जानकारी गराए पनि त्यसयता सांसदहरूसँगको औपचारिक प्रश्नोत्तर कार्यक्रम भने तय हुन सकेको छैन।

म्याग्दीमा सञ्चार सेवा अवरुद्ध, श्रमिक सम्पर्कविहीन भएकोमा ध्यानाकर्षण
संसदमा बोल्दै सांसद राईले बाढी-पहिरो प्रभावित म्याग्दी जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा नागरिकहरू अन्योलमा परेको विषयसमेत उठाएका छन्।

गृहजिल्ला भोजपुरबाट आफूलाई फोन आएको उल्लेख गर्दै उनले म्याग्दीको एक जलविद्युत् आयोजना (टनेल) मा कार्यरत ‘प्रधान’ थरका एक युवा परिवारसँग सम्पर्कविहीन भएको जानकारी गराए।

‘फोन सम्पर्क नभएका कारण उहाँको परिवार निकै चिन्तित छ। यसबारे मैले त्यहाँको जिल्ला प्रशासन कार्यालयसँग बुझ्दा मानवीय क्षति नभएको तर सञ्चार सम्पर्क विच्छेद भएको जानकारी पाएँ,’ सांसद राईले भने, ‘सञ्चार नहुँदा अन्योल र त्रास बढेको छ। त्यसैले त्यहाँको सञ्चार सेवा तत्काल सुचारु गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।‘

असोज १३, २०८३ मंगलबार १०:३७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।