बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
बागलुङ : बागलुङका विभिन्न स्थानमा तीन दिनयता गएको बाढी-पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक ताराखोला गाउँपालिका-५ सिपमा पहिरोले घर पुरिँदा थप दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासू म्याग्दी, मालिका गाउँपालिका-२ की ७९ वर्षीया नरमाया रोका छन्।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए।
यसअघि आइतबार निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर पाँच जना र तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो।
तमानखोलाबाट एक जना अझै बेपत्ता छन्। त्यस्तै शनिबार पनि ताराखोलामै पहिरोले एक जनाको ज्यान लिएको थियो।
अविरल वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रमा पहिरोले घर पुरिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ।
असोज १३, २०८३ मंगलबार ०७:५८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।